आज देशका अधिकांश भागमा पानी परिरहेको छ। पूर्वानुमान महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ का केही ठाउँमा ठूलो पानी परेको हो। यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको थियो। काठमाडौं उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो।

लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। उता बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेकोशी, दूधकोशी, अरुण, तमोर लगायतका नदी र खोलाहरुमा पनि पानीको बहाव बढेको छ।
आज वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्। साथै नदी आसपासमा सर्तकता अपनाउन पनि उनीहरुले अनुरोध गरेका छन्।
हिजो र आज लगातार झरी परे पनि भोलिदेखि भने मौसम खुल्न सक्ने बताइएको छ।

