भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बुधबार एक दिनमा नयाँ संक्रमितको संख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका संक्रमितको कुल संख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.५ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको संख्या चार लाख पाँच हजार २८ पुगेको छ ।
कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरिएको छ ।

