इन्डोनेसिया : पूर्ण मात्राको खोप लगाइसकेपछि पनि फेब्रुअरी र जून महिनाबीचमा इन्डोनेसियामा कम्तीमा २० जना डाक्टर र १० जना नर्सहरूको मृत्यु भएको त्यहाँको डाक्टर तथा नर्सहरूको सङ्गठनले जनाएको छ। विज्ञहरूले यतिखेर स्वास्थ्यकर्मीहरूलाई तेस्रो सिनोभ्याक खोप दिन माग गरिरहेका छन्।

नयाँ भेरिअन्टका कारण इन्डोनेसियामा हाल सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ। साथै समाधिस्थल र अस्पतालहरूमा चाप बढेको देखिन्छ। २५ करोड जनसङ्ख्या भएको देशमा ८ प्रतिशतभन्दा कम मानिसहरूले मात्र खोप लगाएका छन्।
डेल्टाजस्ता नयाँ भेरिअन्टका कारण सङ्क्रमितहरू बढ्न थालेपछि मानिसहरू खोप सुरक्षा लिनका लागि व्यग्र देखिन्छन्। हाल इन्डोनेशियामा दैनिक जसो २० हजार नयाँ सङ्क्रमित देखा परिरहेका छन्। तर जकार्ताबाहिर पर्याप्त मात्रामा परीक्षण नभएकाले त्यस्तो सङ्ख्या निकै धेरै हुनसक्ने विज्ञहरूको भनाइ रहेको बीबीसीले जनाएको छ ।

