काठमाण्डाै : कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदै छ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् ।
पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा.शर्माले बताए ।

