काठमाडौँ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना करिब ११ वर्षपछि सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सोमबार आयोजनाको उद्घाटन गरे। त्यसक्रममा बोल्दै उनले आफ्नो टेक्नोलोजीलाई रिलाइबल टेक्नोलोजी बनाउनु पर्ने बताए।

उनले स्वीडेनमा सन् १९९२मा एकपटक ३० सेकेन्ड बत्ती जाँदा हल्लिखल्ली भएको बताए। नेपाल टुकीरहित देशमा अपग्रेड भएको उनको दावी छ।

उनले भने, ‘अब टुकी देशबाट टुकीरहित देशमा अपग्रेड हुँदै छौँ।’

यस्तै उनले केही ट्रान्समिशन लाइनका कारणले उद्योगले मागे जति विजुली पुर्‍याउन नसकेको बताए।

‘अहिलेसम्म विद्युतमा डिमाण्ड चार्ज धेरै होला। यो केही समय हो। अलि पछि हामी राख्ने छैनौँ। हामी विकासकै क्रममा रहेकाले चार्ज लिनुपर्छ। उद्योगमाथि अलि बढी चार्ज गरिरहेका छौँ। त्यसलाई पनि घटाउने कुरामा सोच्दै जानुपर्छ,’ उनले भने।

उनले थपे, ‘हामीले निर्यात सस्तोमा गर्ने र आफ्ना उपभोक्तालाई महँगोमा बिक्री गर्ने सच्याउन जरुरी छ।’

सो आयोजना सम्पन्न भए पनि लागत भने दोब्बर लागेको उनले बताए। तत्कालीन समयमा ३५ अर्ब रुपैयाँ लागत लाग्ने भनिए पनि आयोजनाको अवधि लम्बिँदा यसको लागतमा ब्याज बढेर ८० अर्बको हाराहारीमा पुगेको छ।

यसैगरी उनले ६ वटा युनिटबाट विद्युत सञ्चालन हुनेमा सुरुवाती चरणमा एक युनिटबाट सञ्चालन गरेको उनले बताए। उनले भने, ‘उत्पादन एउटाबाट सुरु गरेर क्रमशः अन्यबाट उत्पादन गर्दै लैजाने योजना छ।’

सो आयोजनाले कूल ४५६ मेगावाट बिजुली उत्पादन गर्नेछ। देशभित्र निर्माण र स्वदेशकै लगानी भएको यो ठूलो आयोजना हो।

नेपाली कांग्रेसका दिवंगत नेता भीमबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मनाएर सो आयोजना अगाडि बढेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *