पत्रपत्रिका :
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको एक शताब्दी पुगेको अवसरमा आयोजना गर्न लागिएको राजनीतिक दलसम्बन्धी विश्वस्तरीय सम्मेलनमा नेपालका प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूले सहभागी जनाउने भएका छन्।

सिपिसीले मंगलबार आयोजना गर्न लागेको भर्चुअल सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूले सहभागिता जनाउने भएका छन्।
उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले पनि सहभागिता जनाउने र मुख्य वक्ताका रूपमा आफ्ना भनाइ राख्ने उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागले जानकारी गराएको छ। ‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयमा हुन लागेको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले सहभागी जनाउने सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु जाओमिङले सोमबार जानकारी गराएका छन्।
-नागरिक दैनिकबाट

