चितवनको राप्ती नगरपालिका जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव नजिकै विषादी बट्टा र झोला भेटिएको छ । आइतबार साँझ ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा शव भेटिएको थियो ।

अहिले भण्डारीको शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । घटनास्थल नजिक धानमा हाल्ने विषादीको बट्टा र झोला भेटिएको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको थियो । सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।
असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् ।उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।

