कोरोना कहर कम हुँदै गएपछि फेरि मजदुरीका लागि भारत जानेको लर्को बढ्न थालेको छ । कैलालीको त्रिनगर नाका हुँदै भारत पस्नेहरु दिनानुदिन बढ्दै गएका छन् । कोरोना महामारीको दोस्रो भेरियन्टले भारतमा भयावह अवस्था सिर्जना गरेपछि स्वदेश फर्केका नेपालीहरु अवस्था नियन्त्रणतर्फ गएपछि फेरि भारत पसेका हुन् ।

निराश हुँदै त्रिनगर नाकाबाट भारत गइरहेका विशन परियारले भने, ‘कोरोना महामारीले देशको आर्थिक अवस्था डामाडोल भएपछि लालाबालासहित घर खेत छोडेर भारत गइरहेका छौँ । यो सरकारलाई थोरै त लाज लाग्नु पर्ने हो ।’ कैलालीको घोडाघोडी नगरपालिका घर भएका परियार रोजगारीका लागि भारत गइरहेका पहिलोपटक होइन ।
विगत १४ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनी कोरोना भाइरसको महामारी बढेपछि परिवारसहित घर फर्केका थिए । घरमा चुल्हो जलाउन मुस्किल भएपछि उनी फेरि भारततिर लागेका हुन् । उनी आफ्ना छोराछोरीलाई पनि भारतमै पढाइरहेका छन् । ‘गत वर्षको लकडाउनमा त धेरै दुख पायौँ । त्यस्तै होला भनेर दोस्रो लहरको कोरोनाको महामारी अगाडि नै स्वदेश फर्किएका थियौँ । तर पेट पाल्न फेरि भारत जानैपर्ने भयो,’ उनले बाध्यता सुनाए ।
भारत पस्नेहरुको लस्करमा कैलालीकै राजु चौधरी पनि थिए । उनको गुनासो पनि फरक थिएन । दशक बढी समय भारतमा मजदुरी गरेका चौधरीले भने, ‘देशमा सरकार टिकाउने र गिराउने खेल मात्रै भइरहेको छ । दुई छाक टार्न धौधौ हुने हाम्रो समस्या समाधान गर्नतर्फ कसको ध्यान जान्थ्यो र ? बाध्य भएर भारत गइरहेको छु ।’ कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि नेपालमा पनि निषेधाज्ञा हुँदा झन् समस्या भएको उनको गुनासो छ ।
दोस्रो लहरको कोरोना महामारी सुरुवात भएपछि स्वदेश फर्केकाहरु महामारीकैबीच रोजगारीका लागि पुनः भारततिर जान थालेका हुन् । मुलुकमा रोजगारीको व्यवस्था नभएका कारणले गुजाराको लागि फेरि भारततिरै जान परेको गुनासो उनीहरुको छ । झण्डै २८ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशका करिब ३५ प्रतिशत मान्छे रोजगारीको खोजीमा भारततिर जाने गरेका छन् ।
कोरोना महामारी सुरु भएको बेला कोरोनाको त्रास र लकडाउनका कारणले धेरै नेपाली स्वदेश फर्केका थिए । कोरोना महामारी सुरु भएपछि गौरीफन्टा, गड्डाचौकी, झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीडभाड थियो । अवस्था थोरै सहज भएपछि फेरि उतै जानेको नाकामा भीडभाड थियो भने अहिले दोस्रो लहरको कोरोनाको प्रभाव घटेपछि पुनः भारत जानको संख्या बढेको हो ।

