काठमाडौं : फोटो पत्रकार निमेषजङ राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाही गर्न पत्रकार क्लब, नेपालले माग गरेको छ।

शनिबार काठमाडौंको मिनभवनमा विपक्षी दल आबद्ध विद्यार्थी संगठनले गरेको प्रदर्शनको फोटो खिच्न गएका पत्रकार राईमाथि लाठी प्रहार भएको भन्दै क्लबले पत्रकारलाई आक्रमण गर्ने प्रहरीमाथि छानबिन गरेर कारवाही गर्न माग गरेको हो।

प्रहरीको लाठी लागेर राईको घुँडामा चोट लागेको छ। विद्यार्थी संगठनले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका  क्रममा राईमाथि प्रहरीले लाठी हानेको हो।

तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको पत्रकारमाथि पटकपटक नियोजित रुपमा प्रहरीले आक्रमण गरेको भन्दै क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हुन्।

शान्तिपूर्ण विरोध गर्न पाउनु र नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै विज्ञप्तिमा चौथो अंगको मानिएको सञ्चार क्षेत्रमाथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई आग्रह गरिएको छ।

‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी माथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई फोटोपत्रकार क्लब, नेपाल आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *