काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज असार १८ गते ९८ औं जन्म जयन्ती हो। वि.सं. १९८१ साल असार १८ गते भारतको विहारमा उनको जन्म भएको थियो।

मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रीसमेत हुन्। कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउँदै शान्ति सम्झौता भएको थियो। कोइरालाकै अगुवाइमा ०६२/६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।
सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
कोइराला नेपाली कांग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए। ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको ०६६ साल चैत ७ गते निधन भएको हो। नेपाली राजनीतिमा कोइरालाको योगदान अतुलनीय रहेको छ।

