काठमाडौं : यातायात व्यवसायीले १८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय फिर्ता लिएका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशको विरोधमा व्यवसायीहरूले १८ गतेदेखि स्वस्फूर्त सार्वजनिक सवारी सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, १७ असारमा काठमाडौं प्रमुख जिल्ला अधिकारीसँग भएको छलफलपछि यातायात व्यवसायीहरूले आदेशअनुसार जाने निर्णय गरको जनाएका छन् ।
असार १५ गतेदेखि उपत्यकामा २५ सिटभन्दा माथिका सवारीलाई जोर-बिजोर प्रणालीअनुसार मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । तर, यातायात व्यवसायीले उक्त निर्णयको अवज्ञा गर्दै सम्पूर्ण सवारी चलाउन चेतावनी दिँदै आएका थिए ।
हाल कोरोना संक्रमण जोखिम कम नभएको तथा फेरि संक्रमणदर बढिरहेको अवस्था रहेकाले असार २१ गतेसम्मको निषेधाज्ञासम्म काठमाडौं जिल्लाका प्रजिअले धैर्य गर्न यातायात व्यवसायीलाई आग्रह गरेको हुँदा पूर्ववत् आदेशबमोजिम गर्ने-गराउने निर्णयमा फर्किएको उनीहरूले बताएका छन् ।

