वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी छन् ।

उनले रामेछाप उमाकुण्ड गाउँपालिका–३ का २३ वर्षीय सौगात सुनुवारसहित ३ जनालाई इटाली पठाइदिन्छु भन्दै जनही १० लाख ५० हजारका दरले पैसा मागेका थिए । तीनैजनाबाट ३१ लाख ५० हजार रुपैयाँ उठाएर रेग्मीले अजरबैजानसम्म पुर्याएर उनीहरुलाई छाडेर भागेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले असार १५ गते ललितपुरको टीकाथलीबाट रेग्मीलाई पक्राउ गरेको हो ।
उनले विभिन्न व्यक्तिलाई वर्किङ भिसामा युरोपियन मुलुकमा पठाइदिन्छु भन्दै ठगी गर्दै आएको समेत खुल्न आएको छ । उनले एक करोड रुपैयाँभन्दा बढीको ठगी गरेको देखिएको अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका रेग्मीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।


