राष्ट्रियसभाको अधिवेशन असार १७ गतेबाट सुरु हुँदैछ। अधिवेशनको तयारीका लागि संसद् सचिवालयले गृहकार्य गरिसकेको छ। सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरेपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभा अधिवेशनमा प्रमुख प्रतिपक्षको विषयमा विवाद भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको थियो। उसले अब पनि आफू नै प्रमुख प्रतिपक्ष हुने बताएको छ।

नेकपा रद्द भइसकेको अवस्थामा भने राष्ट्रियसभामा कांग्रेसभन्दा माओवादी केन्द्र ठूलो दल देखिएको छ। ठूलो दलको हैसियतले प्रमुख प्रतिपक्ष आफू हुनुपर्ने माओवादीको अडान छ। कांग्रेसले प्रतिनिधिसभाको प्रतिपक्ष दल भएकाले राष्ट्रियसभामा पनि प्रमुख प्रतिपक्ष दलको भूमिका आफूले पाउनुपर्ने अडान लिएको छ।

दुई दिनअघि कांग्रेसका राधेश्याम अधिकारी, माओवादीतर्फबाट रामनारायण बिडारीलगायतका नेताको बैठक बसेको थियो। प्रमुख प्रतिपक्षी दल के हुने भन्ने विषयमा सहमति नभएपछि छलफल बिनानिष्कर्ष स्थगित भएको थियो।

१७ गते संसद बैठक बस्नुअघि छलफल गरेर सहमति खोज्न लागिएको राष्ट्रियसभाका सांसद विडारीले जानकारी दिए। उनले भने, ‘यो विवाद भएको हैन, के हो भनेर छलफल गरेको हो। यसमा खाली राजनीतिक सहमति गर्ने कुरा हो। हामी १७ गतेको संसद् बैठक बस्नुअघि निष्कर्षमा पुग्नेछौं।’ प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा कांग्रेस सांसद राधेश्याम अधिकारीले लिएका छन्। विपक्षी दलको भूमिकामा कांग्रेस रहेन भने उनको सुविधा खोसिनेछ।  यो समाचार नागरिक दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *