ब्राजिलमा कोपा अमेरिका फुटबल प्रतियोगिताको ४६औं संस्करण खेलिरहेका अर्जेन्टिनी स्टार लियोनल मेसीले नयाँ कीर्तिमान बनाएका छन्। कोपा अमेरिका अन्तर्गत बोलिभियाविरुद्धको समूह रचणको अन्तिम खेल खेल्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

जाभियर मास्चेरानोको नाममा रहेको १४७ खेल खेल्ने कीर्तिमान तोड्दै मेसीले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । मेसीले सन् २००५मा हंगेरीविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
देशका लागि १४८औं खेल खेल्दा मेसीले उत्कृष्ट प्रदर्शन गरे । मेसीको २ गोल मद्दतमा बोलिभियालाई ४–१ले हराउँदै अर्जेन्टिना अपराजित रहँदै कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्लब फुटबलमा सबै उपाधि जितिसकेका मेसी राष्ट्रिय टिमबाट कुनै पनि उपाधि जित्न सकेका छैनन् । एक पटक विश्वकप फाइलन र २ पटक कोपा अमेरिका फाइलन खेले पनि उनी उपाधि जित्न असफल छन् । मेसीले राष्ट्रिय टिमका लागि ७५ गोल गरेका छन्।

