एजेन्सी :
इथियोपियाको सरकारले विद्रोहीहरूको पकड रहेको क्षेत्र टिग्रेमा युद्धविरामको घोषणा गरेको छ ।

प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ ।
लामो समयदेखि विद्रोही टिग्रे समूहको सशस्त्र द्वन्द्वका कारण हजारौं विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सरकार र विद्रोहीको द्वन्द्वका कारण सो क्षेत्रमा ५० लाख भन्दा बढी सर्वसाधारणलाई मानवीय सहायताको खाँचो रहेको औंल्याएको छ ।
पछिल्ला केही हप्तामा विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेसँगै सरकारले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको समाचारमा जनाइएको छ ।
टाइगर पीपुल्स लिबरेसन फन्ट (टीपीएलएफ) का प्रवक्ता गेटाच्यू रेडाले विद्रोहीको दवावका कारण सरकारले एकतर्फी युद्धविराम गरेको बताएका छन्। ।
उनले आफूहरुका मागप्रति सरकार सकारात्मक रहेमात्र वार्ता प्रक्रिया अघि बढ्ने पनि बताएका छन् ।
यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानवीय सहायता आवश्यक रहेको ठाउँमा तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले राजनीतिक रूपमै समस्याको समाधान खोजेर इथियोपियाको द्वन्द्व समाधानको पहल गर्ने बताएका छन् ।

