काठमाडौं: प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको कुरा बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
“माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर ,” ओलीले भने, “मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”
विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने भनेका थिए ।
प्रधानमन्त्री ओलीले भने, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन् ।”
उनले नेता भण्डारी नामले नै एउटा विचार, एउटा आन्दोलन; एउटा राजनीतिक हिसाबले सुसभ्य, सुसंस्कृत,विकसित राष्ट्र निर्माण गर्ने सही प्रयासको संगम बताउँदै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताए ।

