काठमाडौँ : नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुङ्गो लगाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिशन कार्यतालिकाकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको नेता रमेश लेखकले जानकारी दिए ।
नेता लेखकले पार्टीको आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढेको बताए । पार्टीको आन्तरिक समायोजनका कारण अबरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आइतबारदेखि काम अघि बढेको उनले बताए ।
उनले भने, ‘ देशको कुनै पनि जिल्ला कुनै पनि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यतासम्बन्धी काम रोकिएको छैन ।’
नेता लेखकले देशभरिबाट करिव ८ लाख २० हजार सदस्यताको इन्ट्री भएको र केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको जानकारी दिए । अहिले इन्ट्री भइरहेका ५-६ ठाउँबाहेक अरु ठाउँको सदस्यता सार्वजनिक भइरकेको समेत बताए । यससम्बन्धमा उजुरी गुनासोका लागि तोकिएको समय पनि समाप्त भइसकेको हुँदा देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बन्नाउने प्रयास जारी रहेको उनले बताए ।

