सप्तरी : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको प्रतिकार आवश्यक रहेको बताए ।

राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने कार्यक्रममा शनिबार बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले संविधान मिचेर काम गर्दै गरेको, जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसद्लाई २ पटक भंग गरेको कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए। उक्त कदमका विरुद्ध पाँच दलीय गठबन्धन बनेको कुरा व्यक्त गरे ।
‘संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको छ,’ नेता यादवले भने, ‘त्यसै कारण जनता बलियो हुने संसदलाई प्रधानमन्त्री रहनै नदिने उद्यममा लागेका छन् ।’
राजा महेन्द्र, ज्ञानेन्द्रले संसद्लाई प्रहार गरेजस्तै त्यसको नयाँ संस्करणका रुपमा अहिले प्रधानमन्त्री ओली अघि बढेको उनको टिप्पणी थियो ।

