काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि छलफल सुरु भएको छ । यसै सिलसिलामा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आसन्न महाधिवेशन र नेतृत्वको तयारीका बारेमा छलफल गरे ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला , नेता प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइरालालगायत लगभग २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए।
उक्त भेलामा अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।
पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

