काठमाडौँ : नेपाल कांग्रेसमा सभापतिको आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् ।

महाधिवेशन केन्द्रित छलफलमा जुटेका महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।
महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताहरूको पनि सहमतिका साथ अघि बढ्नुपर्ने चाहना रहेको बताए ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’
पूर्वमहामन्त्री सिंहले एउटै टिम बनाएर बनाएर जाने विषयमा सकारात्मक छलफल भइरहेको बताए ।

