काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपतिमा भन्दा पहिलेका राजाहरुमा नै शान रहेको बताएका छन्।

विपक्षी पाँच दल आबद्ध गठबन्धनले संसद् भवनमा बिहीबार सम्पादकहरुसँग गरेको अन्तक्रियामा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपतिले एकपछि अर्को गर्दै संविधान, लोकतन्त्र र राष्ट्रहित विपरीतका गतिविधिमा प्रधानमन्त्रीलाई साथ दिँदै आएको भन्दै राष्ट्रपतिमा भन्दा उतिबेलाका राजाहरुमा नै शान रहेको बताएका हुन् ।
‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो नि, अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए,’ अन्तक्रियाका क्रममा प्रचण्डले भने ।
उनले अहिले आएर देशका लागि केपी ओली भिलेन हो भन्ने जनताले थाहा पाइसकेको दाबी गर्दै भने,‘सबै नेताहरु उस्तै उस्तै हुन् भन्ने लाग्ला त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहा पाइसके ।’ प्रचण्डले केपी ओलीभन्दा कांग्रेस सयौं गुणा बढी बामपन्थी भएर आएकोसमेत बताए ।
‘संविधानको रक्षा र समयानुकुल संविधान संसोधन गर्दै जाने, लोकतन्त्रका आधारभूत मूल्यको रक्षा, नेपालको राष्ट्रियता र स्वाधिनताको रक्षासहितका मूलभूत सिद्धान्तमा आधारित रहेर यो गठबन्धन बनेको हो, एउटा चुनाव वा केपीलाई प्रधानमन्त्रीबाट हटाउन मात्रै यो गठबन्धन होइन ।’
उनले प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष नभएकोसमेत प्रष्ट्याए । ‘प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष होइन, यो त सिस्टम बचाउने र नबचाउनेबीचको लडाइँ हो, संविधान र लोकतन्त्र बचाउने बीचको लडाइँ हो ।’
बयलगाढा सिद्वान्त प्रतिपादन गर्ने केपी र आन्दोलनको झण्डा बोक्ने माधव नेपाल उस्तै नभएको भन्दै प्रचण्डले प्रश्न उठ्ने वित्तिकै राजीनामा दिने प्रचण्ड र छोड्नु परे देशै डुबाउन खोज्ने केपी ओली उस्तै हो त ? भन्ने प्रश्न पनि गरे ।

