काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नु पर्ने कुनै कारण राष्ट्रपतिसँग नरहेको उनले बताए ।

सम्पादकहरूसँगको अन्तरक्रियामा यादवले भने, “बहुमतको हस्ताक्षरसहित दाबी गरेका देउवालाई प्रधानमन्त्री नबनाउनु पर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद छ ।”
राजाहरूको सिको गरेर केपी ओलीले संसद् विघटन गरी निरंकुश शासन चलाउन खोजेको आरोप उनले लगाए । राष्ट्रपतिसँग मिलेमतो गरी अध्यादेशमार्फत स्वेच्छाचारी शासन गर्न खोजेको उनको दाबी थियो ।
“पटक-पटक प्रधानमन्त्रीबाट असंवैधानिक काम भए पनि राष्ट्रपतिसँग मिलेर असंवैधानिक रूपमा देश कब्जामा लिदैँ छन् ,” यादवले भने ।
उनले प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरे पनि राष्ट्रपतिले अस्वीकार गर्नु असंवैधानिक रहेको यादवको भनाइ छ ।
यादवले १ सय ४६ जना सांसदले दिएको रिट निवेदनका पक्षमा सर्वोच्च अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे ।

