कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलताअनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद गर्न सक्ने गरी सिनोफार्मले आश्वस्त तुल्याएको छ ।

‘चिनियाँ कम्पनी ३० जेठमै १० लाख डोज खोप उपलब्ध गराउन तयार थियो,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले टेलिफोनमा भने, ‘सिनोफार्मले आगामी अगस्टसम्ममा हामीलाई ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गराएको छ ।’ त्यसपछि खोपको प्रेसर पनि कम हुने भएकाले आवश्यकताअनुसार थप खरिद गर्न सकिनेछ ।

सिनोफार्मको सर्तअनुसार खोप खरिदपूर्व उसलाई भुक्तानी गर्नुपर्छ । ‘मन्त्रिपरिषद्ले खोप खरिद गर्ने निर्णय गरिसकेका कारण भुक्तानी हुन्छ । ४० लाख खोप सुनिश्चित हुनु पनि हाम्रा लागि ठूलै राहत हो,’ एक कूटनीतिक अधिकारीले भने ।

भारतबाट आउनुपर्ने १० लाख डोज अझै अनिश्चित उता भारतबाट भने खरिद गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप तत्काल आउने सम्भावना छैन । यद्यपि, नेपालले खोप उपलब्ध गराइदिन भारत सरकार र उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियालाई तारन्तार ताकेता गरिरहेको छ ।

सेरमले दिल्लीस्थित नेपाली कूटनीतिक अधिकारीहरूलाई निरन्तर एउटै जवाफ दिँदै आएको छ, ‘हामी नेपालको अवस्था र आग्रहबारे अवगत छौँ । यस सम्बन्धमा हामी काम गरिरहेका छौँ ।’ खोप कहिले दिने भन्ने स्पष्ट केही बताएको छैन ।

नेपालले सेरमसँग २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख मात्रै उपलब्ध गराएको छ । नेपालमा पहिलो डोज कोभिसिल्ड खोप लगाएका करिब १७ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।

डेनमार्कबाट खोप आउनेमा पनि अन्योल कायमै सरकारले अमेरिका, रुस र बेलायतलाई पनि खोपका लागि आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यहाँबाट पनि स्पष्ट जवाफ आएको छैन । डेनमार्कबाट कोभिडविरुद्धको अक्सफोर्ड—एस्ट्राजेनेकाको खोप ल्याउन पनि नेपालले जेठ तेस्रो सातादेखि कूटनीतिक प्रयास गरिरहेको छ । अनुदान, खरिद र पैंचो तीन मोडालिटीमध्ये जुनसुकै विकल्पमा भए पनि खोप उपलब्ध गराउन नेपालले आग्रह गर्दै आएको छ । तर, डेनमार्कले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन ।

‘हामीले कूटनीतिक माध्यमबाट प्रयास जारी राखेका छौं, खोप कति उपलब्ध हुन्छ र कहिले हुन्छ भन्ने जानकारीको प्रतीक्षामा छौं,’ डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले बिहीबार टेलिफोनमा भने । डेनमार्कले खरिद गरेका एस्ट्राजेनेका खोप भण्डारणमा राखेर आफ्ना नागरिकलाई फाइजर खोप लगाइरहेको छ ।

डेनमार्कसँग नेपालसहित ३५ मुलुकले खोपका लागि आग्रह गरेका छन् । त्यसैले निर्णय गर्न नसकेको नेपाल सरकारको बुझाइ छ । ‘नेपालसहित ३५ देशले खोप उपलब्ध गराउन दबाब दिइरहेका छन्, डेनमार्कले कसलाई कति दिने भन्ने निर्णय गर्न सकेको छैन । चाँडै जानकारी दिन्छौँ भन्ने जवाफ आएको छ, तर ठोस प्रगति छैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

डेनमार्कमा सुरुमा लगाइएको एस्ट्राजेनेका खोपको साइड इफेक्ट देखिएपछि सरकारले नागरिकलाई नै विकल्प रोेज्न भनेको थियो । एस्ट्राजेनेका खोप लगाउन चाहने नागरिकलाई उसले उपलब्ध गराउँदै आएको छ । दुई निजी कम्पनीलाई सरकारले केही खोप उपलब्ध गराएको छ र इच्छुक नागरिकलाई लगाउन आग्रह गरेको छ ।

डेनमार्कले सुरुमा २४ लाख डोज खोप खरिदका लागि अक्सफोर्डसँग सम्झौता गरे पनि करिब १४ लाख डोज आएको छ, बाँकी आपूर्ति भएको छैन । त्यसमध्ये बाहिरी मुलुकलाई कति डोज उपलब्ध गराउने भन्ने यकिन पनि गरेको छैन ।

नेपालमा बढ्दो संक्रमण तथा ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन नपाएको अवस्थालाई दृष्टिगत गर्दै नेपालप्रति शुभेच्छा राख्ने मानव अधिकारकर्मी एवं नागरिक समाजको समूहले तत्काल खोप उपलब्ध गराउन डेनमार्क सरकारसँग र संसद्मा लबिङ गर्दै आएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय समितिमा पनि नेपालबारे छलफल भएपछि परराष्ट्रमन्त्री जेपे कोफोडले नेपाललाई खोप सहयोग गर्ने आश्वासन दिएका थिए । तर, डेनमार्क कुन देशलाई कति खोप उपलब्ध गराउने भन्ने दबाबमा छ । कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका राजदूत लम्सालले डेनमार्क सरकारबाट जानकारीको पखाईमा रहेको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *