काठमाडौँ: कांग्रेस सभापित शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले गठबन्धनलाई मजबुत बनाएर लैजाने तथा ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारका ‘असंवैधानिक कदम’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् ।
उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो उत्रिने निर्णय भएको छ ।’
माधवकुमार नेपालले ओलीसँग मिलेर अघि बढ्न नसक्ने कुरा बताएको कुरा पनि यादवले जानकारी गराए।
नेपालको भनाइ उद्धृत गर्दै अध्यक्ष यादवले भने,‘माधवकुमार नेपालले समेत सहकार्य जारी रहने र केपी ओलीसँग कुनै पनि अवस्थामा सहकार्य नहुने अवस्था बनेको बताउनुभयो ।’
बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमाचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेता देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

