काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेपछि २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यीय बन्न पुगेको हो ।

मन्त्रिपरिषदमा अब प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र बाँकी रहेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद भने गुमेको छ ।
गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, उद्योगमन्त्री राजकिशोर यादव, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, संघीय मामिला तथा सामाज्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालय हेर्नेगरी नियुक्त भएका मन्त्री मोहन बानियाँ र वन राज्यमन्त्री आशाकुमारी विक सर्वोच्चको अन्तरिम आदेशसँगै पदमुक्त भएका छन् ।
यस्तै, पद मुक्त हुनेमा उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, ऊर्जामन्त्री शरदसिंह भण्डारी, खानेपानीमन्त्री अनिलकुमार झा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, भूमि व्यवस्थामन्त्री लक्ष्मणलाल कर्ण, श्रममन्त्री विमलप्रसाद श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला बालबालिकामन्त्री चन्दा चौधरी, युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ छन् ।
यसैगरी, ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला बालबालिका राज्यमन्त्री रेणुका गुरुङ पनि पदमुक्त भएका छन् ।

