विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिइराख्न पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए। तर उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्या अपर्याप्त रहेको बताए।

अफ्रिकाका देशहरूमा सङ्क्रमणको तेस्रो लहर देखा पर्दा खोपको अभाव देखिएको छ। हालसम्म खोप लगाएका मानिसहरूको सङ्ख्या त्यहाँको जम्मा जनसङ्ख्याको तुलनामा अत्यन्तै न्यून रहेको छ।

सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले बताएअनुसार महादेश स्तरको कुरा गर्दा हालसम्म अफ्रिका महादेशमा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको छ, जुन त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हो।

रामापोसाले खोपको अभाव हुनुमा धनी देशहरूले खोप जम्मा गरेर राख्ने प्रवृत्ति कारण रहेको बताएका छन्। अन्त्य हुनुपर्ने बताएका थिए।

अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्‍याउन कोभ्याक्स अभियान थालिएको थियो।

डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो। त्यस मध्ये अधिकांश गरिब देशहरूलाई चन्दा दिइने भनिएको थियो। र ती देशमा कम्तीमा करिब २० प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराउने अपेक्षा कोभ्याक्सको हो।

तर खोपको वितरण उत्पादनमा भइरहेका ढिलाइ र आपूर्तिको अवरोधले प्रभावित भइरहेको छ,जसले कोभ्याक्समा मात्रै निर्भर देशहरूमा सङ्कट निम्त्याएको बीबीसीले उल्लेख गरेको छ।

युगान्डा, जिम्बाब्वे, बाङ्ग्लादेश र ट्रिनिडाड एण्ड टोबागो हालैका दिनमा खोपको अभाव सामना गर्ने केही देशहरू हुन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *