डेनमार्क युरो कपको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राती सम्पन्न खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे। रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए।
जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो।
पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो।
समान तीन अंक भए गोलअन्तरका आधारमा रुस भने समूह चरणबाट बाहिरिएको छ। पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १–० ले हराएको थियो।

