काठमाडौं : नेपाली कांग्रेसमा नेतृत्वका लागि नयाँ समीकरणको पहल सुरु भएको छ । भदौ १६ गतेदेखि काठमाडौंमा हुने १४ औं महाधिभवेशनमा नेतृत्व लिन पहिलो र दोस्रो पुस्ताका नेताहरुले अहिले सक्रियता बढाएका छन् ।

अबको महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले हिजो महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफल गरेका छन् ।
कांग्रेस राजनीतिमा विरासत धानेका बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधीका छोराहरुबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तीन नेताबीच अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।
उता, सभापतिमा दोहोरिने योजनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग छलफल तीव्र पारेका छन् । हिजो उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।
उनले तीन दिनको अवधिमा सातै प्रदेशका नेताहरुसँग छलफल गरिसकेका छन् । आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका देउवालाई यसपटक आफ्नै समूह मिलाउन कठिन हुने देखिएको छ । उपसभापति बिमलेन्द्र निधीले साथ छाडे पनि आफूलाई कुनै फरक नपर्ने देउवाको भनाइ छ ।

