अमेरिकाले उत्तर कोरियासँग औपचारिक वार्ताका लागि पहल अगाडि बढाएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको आग्रहलाई उत्तर कोरियाली नेता किम जोङले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेका छन् ।

नेता किम जोङले अमेरिका र दक्षिण कोरियासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहन आफ्ना अधिकारीहरूलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उत्तर कोरिया मामिलामा रोकिएको कूटनीतिक प्रयासबारे दक्षिण कोरियाली र जापानी अधिकारीहरूसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम हाल सोलमा छन् ।
उत्तर कोरियाको प्योङयाङमा गत साता आयोजित राजनीतिक सम्मेलनमा नेता किम जोङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए ।
अमेरिकी अग्रसरतामा लगाइएका प्रतिबन्धले संकट व्यहोरिरहेको उत्तर कोरियाली अर्थतन्त्रमा कोरोना भाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभाव चुलिएको जनाइएको छ । अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरूले ध्यानपूर्वक नियालेको जनाउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरे ।

