गत साता मंगलबार शेयर बजार नियामक निकाय धितोपत्र बोर्डले ५१ कम्पनीले बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर शेयर मूल्य बढाएको र लगानी गर्न जोखिम रहेको बताएपछि शेयर बजार निरन्तर ओरालो लागेको छ।

बोर्डको एउटा विज्ञप्तिले शेयर बजारमा आएको गिरावट आजसम्म पनि कायमै छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २ हजार ८३४.४१ विन्दुमा झरेको छ।
आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज २०० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। यता १८ वटा कम्पनीको मात्रै मूल्य बढेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, उपसमूहतर्फ फाइनान्स ५.१८ प्रतिशत, जलविद्युत् ५.२ प्रतिशत, विकास बैंक ४.६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशतले घटेको छ।
आज अधिकांश कम्पनीको शेयर मूल्य घट्दा पनि नारायणी विकास बैंकको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एचआइडीसीएलको शेयर मूल्य ४.३३ प्रतिशत, नेपाल टेलिकम, बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि वृद्धि देखिएको छ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले धितोपत्र बोर्डले पछिल्लो पटक चालेको कदमले आम लगानीकर्ताले अबैं रुपैंयाँ गुमाएको बताएकी छिन्। उनले धितोपत्र बोर्ड रमिते मात्रै भएर बस्ने हो की आम लगानीकर्ताको चहराईरहेको घाउमा मलमपट्टी गर्नेतिर लाग्नु पर्ने भन्दै प्रश्न पनि गरेकी छिन् ।
यदि बोर्ड रमिते मात्रै बनेर बस्ने हो भने शेयर बजार गिरावट ल्याउने प्रमुख दोषीको संगिन आरोप खेप्नुको साथै चर्को मूल्य चुकाउनु पर्ने पनि बताएकी छिन्।

