काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापतिमा उम्मेद्वारी दिन आफूनिकट केन्द्रीय सदस्यहरूसँगको भेटघाटलाई तीब्र बनाएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका संशोधन भएर कांग्रेसभित्र नेतृत्वको विषयमा बहस भएसँगै सभापति शेरबहादुर देउवाले आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल थालेका हुन् ।
सभापति देउवाले शनिबार प्रदेश-१ का आफू पक्षीय केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानिलकण्ठ बोलाएर छलफल गरेका छन् ।
आफू सभापतिमा उठ्ने जानकारी गराउँदै देउवाले नेताहरुलाई सहयोग गर्न आग्रह गरे । आफ्नै नेतृत्वमा पार्टीलाई ठूलो र सुदृढ पार्टी बनाउने कुरा बताउँदै पहिला सोचेअनुसार काम नभएको पनि स्वीकारे। देउवाले पार्टीमा आफूले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको समेत नेताहरुसँग बताएक थिए ।
सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका देउवाले सुरुमा प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सीता गुरुङ, डिला संग्रौलालगायत नेता उपस्थित भएका थिए

