साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा पहिरो गएको छ। आइतबार अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको हो।

आज नेप्से परिसूचक ६३.२८ अंकले घटेर २ हजार ९०५.४६ अंकमा झरेको छ। गत साताको सोमबार नेप्से सूचक हालसम्मकै उच्च ३ हजार २५.८३ विन्दु पुगेको थियो। साथै, शेयर कारोबार रकमले पनि नयाँ रेकर्ड राख्न सफल भएको थियो।

गत आइतबार १९ अर्ब ५५ करोड बढी रुपैयाँको शेयर कारोबार भएको थियो। तर गत बिहीबार शेयर कोरोबार पनि ९ अर्ब १५ करोड रुपैयाँ घटेर १० अर्बको कारोबार भएको थियो।

सोमबार अहिलेसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा पुगेको बजार बिहीवार कारोबार बन्द हुँदा १.२९ अंकले घटेर २ हजार ९६८.४३ अंकमा झरेको थियो। गत बुधबार सर्वसाधारण लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका थिए।

त्यस्तै आज कारोबार भएका कम्पनीमध्ये २०० वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ भने १७ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। त्यसैगरी ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँमा कारोबार भएको छ। विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको शेयरमा धेरै गिरावट आएको छ।

आजको कारोबारमा युनियन हाइड्रोपावर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, बरुण हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएका छन्।

त्यसैगरी गोर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत् कम्पनी, तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य भने बढेको छ।

यसरी पछिल्लो सातादेखि लगातार शेयर बजार पहिरो जानुको कारक तत्व भने नेपाल धितोपत्र बोर्ड भएको छ। शेयर बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर शेयर मूल्य बढाएको र लगानीको लागि जोखिम रहेको भन्दै गत मंगलबार ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेर ‘कारक’ को भूमिका निर्वाह गरेको देखिन्छ।

बोर्डले शेयरमूल्य अचाक्ली बढेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि सर्वसाधारण लगानीकर्ताको मनोबल निकै कमजोर भएको हो। लगानीकर्ताको मनोबल कमजोर भएकाले त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको विश्लेषकहरुले बताएका छन्।

बोर्डले लगानी गर्न जोखिम भनेर सार्वजनिक गरेका ५१ कम्पनीमात्र घटेका छैनन्। बजार घटाउने रणनीति अनुसार नै बोर्डबाट यस्तो अस्त्र प्रहार भएको कतिपय लगानीकर्ता र विश्लेषकहरुले आरोप लगाउँदै आएका छन्।

नेप्से ३ हजार विन्दुबाट माथि लागेको अवस्थामा बोर्डले सार्वजनिक गर्नाले बजारमा यस्तो प्रभाव परेको बताएका छन्।  आधारमा बजार घटाउने अस्त्र प्रहार गरिए पनि यसबाट फेरि पनि मारमा भने साना र नयाँ लगानीकर्ता नै परेका छन्।

किनभने बढी मूल्यमा किन्ने अनि अहिले घट्दा पनि आत्तिएर बिक्री गर्नेहरु पनि अधिकांश साना र नयाँ लगानीकर्ता नै हुने गर्छन्। अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने निकायहरुबाट चालिएका यस्ता कदमले साना लगानीकर्तालाई थप मारमा पार्नु अझै दुःखद् पक्ष भएको विश्लेषकहरुको भनाइ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *