काठमाडौं-:राष्ट्रपति विद्यादेवी भण्डारीले मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा  सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रीसहित  राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएकी छिन्।

गृहमन्त्री खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपतिलाई मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराएका थिए।

राष्ट्रपति भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितहरूको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीहरूको सराहना गर्दै विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्‍चात् गरिने राहत‚ पुनर्स्थापना र पुनर्निर्माणका कामहरूको साथसाथै विपद्‍ जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताइन्। उनले विकासका लागि भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्प‚ बाढी‚ पहिरो‚ चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमहरूलाई समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइन्।

त्यसका लागि गृह मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालय र निकायहरूसँग समेत समन्वय गरी कार्य गर्न सुझाव दिइन्। विपदको समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाईमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको उनको भनाइ थियो।

प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा विपद् बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्यहरू सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी राष्ट्रपतिलाई गराइएको थियो। प्रधानसेनापती पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा, शसस्त्र प्रहरी बल-एपीएफका शैलेन्द्र खनाल पनि उपस्थित थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *