भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका- ९ ताथलीमा इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय राजु मछेका छोरा १० वर्षीय रोजन मछेको घर नजिकै रहेको सेतो बीएम इँटाभट्टास्थित पानी जमेको खाडलमा डुबेर मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार हराएका उनी शनिबार खाडलमा मृत फेला परेका थिए।‘रोजन शुक्रबार दिउँसोदेखि हराएको भन्दै प्रहरीमा जानकारी आएको थियो’, परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, ‘उक्त जानकारीपछि घरको आसपास र जान सक्ने सम्भावित ठाँउ तथा निजका साथीभाइसँग समेत बुझ्दा उनी फेला परेका थिएनन्।’
प्रहरी टोलीले खोजतलास गर्दै जाँदा घरको नजिकै रहेको सेतो बीएम इँटाभट्टास्थित पानी जमेको खाल्डोको पानी हल्लाउदा गएराति साढे १ बजे रोजनको लाश पानीमा तैरिएको उनले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार खाल्डोमा रोजनको लास फेला परेपछि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। उक्त टोलीले घटनास्थल तथा लास जाँच मुचुल्काको कार्य सम्पन्न गरेको थियो।

मृतक लाश पोस्टमार्टमको लागि चाँगुनारायण नपा- २ दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *