पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

उनी जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए ।
शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाऊँ भन्दै प्रस्ताव राख्नेछन्। गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त भएका चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसद्को मत आवश्यक पर्छ ।

