काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवजको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कांग्रेसका नेताहरूले यस्तो आरोप लगाएका हुन्।
बैठकपश्चात् संचारकर्मीसँग कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले खोप झिकाउनका लागि गम्भीर पहल गर्नुको सट्टा सरकार लकडाउन लम्बाएर सत्ता जोगाउने चक्करमा लागेको बताए।
कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा.महतले दिए।
बिहीबारको बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल भएको थियो। पूर्व निर्धारित तालिका परिवर्तन गरेर भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ।

