काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

अध्यक्ष यादवले ३ असारका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठकमा समितिमा रहेका सबैलाई बोलाइएको छ ।
अध्यक्ष यादवले पार्टी भित्र देखिएको विवादका बारे निर्वाचन आयोगले कुनै निर्णय नदिएपछि कानुनी तथा राजनीतिक लडाइँको तयारीका विषयमा रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
अध्यक्ष यादवले केही समयअघि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई कारवाही गरी सो बारेको विवरण अद्यावधिक गर्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।
यसैगरी ठाकुर पक्षले पनि यादवसहितलाई कारवाही गर्दै विवरण अद्यावधिक गरिदिन आयोगलाई गुहारेका थिए । तर आयोगले भने दुबै समूहको पत्रलाई अस्वीकार गरिदिएको थियो ।

