काठमाडौं :एमालेले असार २ गतेका लागि तय गरेको स्थायी कमिटी बैठक स्थगित गरेको छ।

२ गतेका लागि तय गरेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो ।
एमालेलाई सर्वोच्च अदालतले ०७५ जेठ २ गतेको स्थितिमा फर्काइदिएपछि पुरानै कमिटीको बैठक बस्नुपर्ने नेपाल पक्षले माग गर्दै आएको थियो ।
एमालेका असन्तुष्ट पक्षले माओवादीबाट आएकाहरुलाई काखी च्यापेर आफूहरुलाई पाखा लगाएको भन्दै आक्रोश पोख्दै आएका छन् । २ गतेका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो । तर, पूर्वसन्ध्यामा आएर बैठक स्थगित गरिएको छ ।
मङ्गलबार दिउँसो पनि ओली र नेपाल पक्षका दोस्रो तहका केही नेताबीच अनौपचारिक छलफल भएको थियो। उनीहरूकै सुझावअनुसार बुधबार बस्ने भनिएको बैठक केही दिन पर सारिएको बताइएको छ।

