जेठ ३० गते । नेपालमा कोभिड संक्रमण घट्न थालेसँगै आन्तरिक हवाई उडानहरू खोल्नुपर्ने वायुसेवा सञ्चालक संघ, नेपालले माग गरे पनि अहिलेसम्म कुनै तयारी गरिएको छैन । संघले गत जेठ २५ गते (बुधबार) नै विज्ञप्ति जारी गरी विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेको जनाइसकेको छ । यता, आन्तरिक उडान खुल्ला गर्नुपर्ने मागबारे मन्त्रालयमा पत्र आए पनि अहिलेसम्म त्यसको बारेमा केही छलफल नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

उहाँले आफूहरू उडानबारे सकारात्मक रहे पनि निषेधाज्ञा नसकिएकाले त्यो विषयमा छलफल नभएको र अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । “मन्त्रालयमा निवेदन आएको छ,आन्तरिक उडान कहिले गर्ने केही तयारी भएको छैन”–सूचना अधिकारी सुवेदीले भन्नुभयो । तर संघले लामो दूरी पनि छोटो समयमै पुग्न सकिने र विश्व स्वास्थ्य संगठन, सरकारले तोकेको मापदण्डको पूर्ण पालना हुने भएकाले उडान खोल्नुपर्ने बताएको छ । सूचना अधिकारी सुवेदीले भन्नुभयो,“निषेधाज्ञा भएकाले उडान खोल्ने कुरा मन्त्रीपरिषदबाट हुने कुरा हो, कहिलेदेखि आन्तरिक उडान सञ्चालनमा आउछ अहिले नै भन्न सक्ने अवस्था छैन ।”

गत वर्ष जस्तै यो वर्षको बन्दाबन्दीमा पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गर्न वायुसेवा संघले माग गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य कटौतीलाई संघले स्वागत गर्दै आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य घटाउनसमेत अनुरोध गरेको छ । संघले विभागीय मन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेको छ । पत्रमा आउदो असार १ गतेबाट आन्तरिक हवाई उडानहरू सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । तर सरकारको तर्फबाट आन्तरिक हवाई उडान अझै अनिश्चित रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *