काठमाडौं : नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति निन्दा जनाउँदै नेकपा एमालेका नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भनी सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सांसद वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि सत्ता पक्षका सांसद र नेताहरुले उनलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।ओलीको विरुद्धमा वैद्यले दिएको अभिव्यक्तिले एमालेभित्र आक्रोश पैदा भएको छ।
पूर्वमन्त्री बस्नेतले उनलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने माग राखेका छन्। जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्ने भएकाले अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्ने उनले उल्लेख गरेका छन्।
“माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ।” बस्नेतले भनेका छन्, “अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्दछ।”
नेताबस्नेतले भनेका छन्,”मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन्।”

