काठमाडौं : नेपाली काँग्रेसका प्रदेशसभा सांसद नरोत्तम बैद्यले बागमती प्रदेशसभामा शुक्रबार गरेको उत्तेजक सम्बोधनले उनी विवादमा परेका छन्।

प्रदेशसभामा सांसद बैद्यले प्रधानमन्त्रीको विरोध गर्दै बोल्दा “नेपालमा पनि कोही नाथुराम गोडसे बन्नु पर्यो, नत्र म आफै बन्छु” भन्दै अभिव्यक्ति दिएका थिए।
नाथुराम गोडसे सन् १९४८ मा महात्मा गान्धीलाई गोली हानेर मार्ने व्यक्ति हुन्।
असंयम भई बैद्यले दिएको अभिव्यक्तिको सर्वत्र -आलोचना भइरहँदा नेपाली कांग्रेसले पनि उक्त भनाइप्रति निन्दा गरेको छ। अभिव्यक्ति फिर्ता लिएर बैद्यले आत्मालोचना गर्नुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
शर्माले संसद्मा संयम गुमाउन नपाइने भन्दै वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएका हुन्। आवेगको बोली र व्यवहार “भावनात्मक उत्तेजना” भनेर उन्मुक्ति नहुने उनको भनाइ छ।
“सडकमा पनि राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न। आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न,” प्रवक्ता शर्माले भने, “शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।”
प्रदेशसभामा सांसद बैद्यको सम्बोधन यस्तो थियो, “ओली सरकारको बाहिर बस्दा घोर राष्ट्रवादी, अनि सरकारमा पुगेपछि लम्पसारवादी।। अब अहिलेको परिपेक्ष्यमा चाँहि ओलीले आफ्नो सत्ता बचाउनुको लागि जुन किसिमको हतकण्डा मच्चाइरहेका छन्। सत्ता बचाउन ओली जे पनि सम्झौता गरिराख्या छ। यो समयमा खड्ग ओलीलाई यसरी ने छोड्ने हो भने नेपाल खाइदिन्छ है। त्यसैले मेरो आग्रह के छ भने कोही नाथुराम गोडसे आवश्यकता पर्यो है अब। यो देश बचाउनको लागि। कोहि नाथुराम गोडसे बन्न तयार छैन भने म बन्ने की?”

