एजेन्सी:
संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्क लोककले उत्तरी इथियोपियामा अनिकाल निम्तिएको बताएका छन् ।

उनले भने, “यहाँ अहिले अनिकाल छ ,अवस्था निकै खराब हुँदैछ।”
राष्ट्रसंघको सहयोगमा अवस्थाबारे विश्लेषण गर्दै तथ्याङ्क सार्वजनिक गरिएपछि उनले यस्तो जानकारी गराएका हुन्।
यस अध्ययनले युद्धको चपेटामा परेको टिग्रेई क्षेत्रका ३ लाख ५० हजार जनता ठूलो सङ्कटमा रहेको देखाएको छ । त्यस्तै अम्हारा र अफरमा पनि यस्तै अवस्था छ ।
सरकारी सेना र विद्रोहीबीचको लडाँइको मारमा टिग्रेई परिरहेको छ र अहिलेसम्म यहाँबाट १७ लाख मानिस विस्थापित भइसकेका छन् ।
अनुसन्धानअनुसार यस क्षेत्रमा खाद्यान्नको अति नै सङ्कट छ । भोकमरीकै कारण मानिसहरु ज्यान गुमाउन बाध्य छन् र यो सङ्ख्या बढ्ने डर पनि छ । युनिसेफले सङ्कट समाधानका लागि कदम चाल्न पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

