संसारमा काहिँ खोपको हाहाकार छ भने काहिँ विभिन्न प्रलोभन दिएर खोप लगाउनु पर्ने अवस्था छ। त्यस्तै प्रलोभनको रुपमा अमेरिकाको वासिङ्गटन राज्यले कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकलाई एक खिल्ली गाँजा निःशुल्क दिने भएको छ।

वासिङ्टन स्टेट लिक्वर एण्ड क्यानाबिस बोर्डले सोमबार ‘जोइन्ट्स फर ज्याब्स’ अर्थात ‘खोपको बदला गाँजा’ नामक कार्यक्रम घोषणा गरेको छ। जुलाई १२ देखि लागू हुन गइरहेको उक्त कार्यक्रमको लाभ २१ वर्षमाथिका नागरिकले लिन सक्नेछन्। उनीहरूले पहिलो र दोस्रो डोज लगाउँदा एक खिल्ली गाँजा पाउनेछन् ।
यस अघि बोर्डले २१ वर्षमाथिका युवालाई खोप लगाएको खण्डमा एउटा बियर, वाइन वा ककटेल दिने निर्णय गरेको थियो।
वासिङ्गटन खोप प्रोत्साहनका लागि यस्तो योजना ल्याउने पहिलो राज्य भने होइन। यस अघि देखि नै एरिजोना राज्यले पनि खोप लगाउनेलाई गाँजा उपहार दिँदै आएको छ। केहि राज्यहरूले कोभिड़–१९ को खोप लगाएका मानिसहरूका लागि ‘लट्रि’ कार्यक्रम पनि सुरू गरेका छन्।
(एबीसी न्युजमा प्रकाशित समाचारमा आधारित)

