काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमै हुने बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्, “पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु।”
देउवाले आफू महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध भएको भन्दै नेता-कार्यकर्ताहरुलाई कुनै भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

