काठमाडाैं : नेकपा एमालेको माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने निर्णय फिर्ता गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गरेकाे छ । ओलीले पार्टी एकताका लागि भन्दै आइतबार छ बुँदे आह्वान गरेपछि साेमबार बसेकाे नेपाल पक्षकाे स्थायी समितिकाे ठैकले प्रतिनिधिसभा विघटनकाे निर्णय फिर्ता गरे विवादको स्वतः अन्त्य हुने निर्णय गरेको हाे ।

प्रधानमन्त्री ओलीले आइतबार राति वक्तव्य जारी गर्दै पार्टी जेठ ३ काे अवस्थाबाट अघि बढाउन तयार रहेकाे तर त्यसका लागि एमालेका केही सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गरेकाे हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीले प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अनुचित सर्त राखिएको नेपाल पक्षले ठहर गरेको छ।
‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसद्को रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’, सोमबार नेता माधवकुमार नेपालले हस्ताक्षर गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

