काठमाण्डौं । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो ।

घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानी परेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुशी भएको थियो । आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रै बस्ने मोबाइल चलाउने गर्न थालेपछि उनि खुशी भएको हो ।

