पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई यात्रुबाहक रेल एक आपसमा ठोक्किँदा करिब ३० जना यात्रुले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन् । पाकिस्तानी अखबार डनका अनुसार दुर्घटना घोट्की जिल्लामा भएको हो ।

डनले रेल विभागका अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘सारगोढाबाट कराँची जाँदै गरेको मिलाट एक्सप्रेस नाम गरेको रेल र रावलपिन्डीबाट आउँदै गरेको सर सैयद नाम गरेको रेल एक आपसमा जुधेका हुन् ।’
दुर्घटनामा परेको मिलाट एक्सप्रेसभित्र च्यापिएका १५ देखि २० यात्रुलाई अझैँ निकालन नसकिएको पनि डनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । रेलका डब्बाहरू पल्टिएका अवस्थामा रहेकोले च्यापिएका यात्रुहरुलाई निकाल्न अफठ्यारो भइरहेको छ । यद्यपि तीनलाई उद्दार गर्ने प्रयास भने जारी रहेको बताइएको छ ।

