बेइजिङ: चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दाबीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेन बिनले वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको बताएका छन् । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आइरहेका छन् ।
प्रयोगशालामा असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशङ्का अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनलले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिनभित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएको थिए ।

