नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेपछि ‘भर्चुअल’ माध्यमबाट हुनेछ।

बैठकमा बाँकी केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्नेछन्। यसअघि हिजो पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनाल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, राजेन्द्र राई, विजय पौडेल लगायतले धारणा राखेका छन्।
नेता खनालले विश्व कम्युनिस्ट आन्दोलन बुझेको र नेपाली कम्युनिस्ट आन्दोलनलाई सफलतातर्फ लैजान सक्ने युवा नेताहरूले पार्टी संगठनमा पहुँच बढाउनु पर्ने र ज्येष्ठ नेताहरू बाहिरिँदै जानुपर्ने बताएको केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेले बताए।
उनका अनुसार बैठकले तत्कालका लागि पार्टीको समानान्तर संगठन स्थानीय तहको वडास्तरसम्मै विस्तार गर्ने लगायत विषयमा निर्णय लिइनेछ।

