काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । ‘फुट कोर्ट’ भनिने यो बैठकमा सर्वोच्चका सबै न्यायाधीश सहभागी हुनेछन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन, कोरोना महामारीका कारण रोकिएका सेवाको विषयमा न्यायाधीशहरुसँग छलफल गर्न प्रधानन्यायाधीश राणाले पूर्ण बैठक बोलाएका हुन्।
यसअघि जेठ १३ गते बसेको सर्वोच्चको पूर्ण बैठकले महामारीको समयमा नियमित मुद्दा र रिट निवेदनमाथिको कारवाही रोकेको थियो । शुक्रबारका लागि बोलाइएको पूर्ण बैठकमा संवैधानिक इजलास गठन सम्बन्धी नियमावलीको विषयमा छलफल हुने बताइएको छ । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधनको विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान गरिएको छ ।
यो विषयमा सर्वोच्चका न्यायाधीशको धारणा सुनेपछि निर्णय हुनसक्छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजालास विवादित बनेपछि राणाले बोलाएको पूर्ण बैठकलाई महत्वकासाथ हेरिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासबाट न्यायाधीश दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई अलग भएपछि राणाले जेठ २३ गते अर्को इजलास तोकेका छन् । सुनुवाइको मिति तोके पनि राणाले संवैधानिक इजलास गठन गर्न सकेका छैनन् ।
राणाले न्यायाधीशहरुसँगको छलफलपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनको तयारी गरेका छन् । जसका लागि नियमावली नै परिवर्तन गरेर जाने उनको योजना छ ।
जेठ ७ गते मध्यरातम दोस्रो पटक संसद् भंग भएपछि त्यसका विरुद्ध परेका ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए। बहसका क्रममा अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएपछि उनीहरु इजलासबाट अलग हुने निर्णय गरेका हुन् ।
माओवादी केन्द्र र नेकपा (एमाले)बीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गर्ने मुद्दामा सहभागी भएको भन्दै अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएका थिए ।
-अन्नपूर्ण पोस्ट बाट

